खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ। जीवात्माले चपाएर, चाटेर, चुसेर, पिएर खान्छन्। देवता र पितृगणहरू देखेरै तृप्त हुन्छन्, खानुपर्दैन। जीवनको आधार अन्न हो, त्यसैले अन्नलाई ब्रम्ह भनिन्छ।

अद्यते इति अन्नम् अर्थात् जसलाई खाइन्छ त्यही अन्न हो। जीवो जीवस्य भक्षकः हामीले जीवित वस्तु अर्थात् अन्नलाई मात्र खानुपर्छ। जसरी यज्ञमा उम्रन सक्ने बिउको हवन गरिन्छ, शरीर रूपी यस यज्ञकुण्डमा पनि त्यही नियम लागू हुन्छ। जीवितले मात्र शक्ति र शरीर दिन्छ।

शुश्रुताचार्यले भनेका छन् ‘अन्नमूलं बलं पुंषां बल मूलं हि जीवनम् अर्थात् मानिसको बलको आधार अन्न हो, बल नै जीवनको आधार हो। अन्नले प्राणको रक्षा, शरीरको निर्माण र बुद्धिको वृद्धि गर्छ। मानसिक र शारीरिक बलका लागि अन्न खानुपर्छ।

खाना पचेर तीन स्वरूपमा रूपान्तरित हुन्छ। खानाको स्थुल भाग दिसा–पिसाबबाट जान्छ, मध्यम भाग रस भई रगत आदि बन्छ, सुक्ष्म भागचाहिँ बुद्धिरूपमा रहन्छ। बुद्धिं लुम्पति यद् द्रव्यं मदकारी तदुच्यते  अर्थात् नशालु खाद्यपदार्थले बुद्धिको नाश गराउँछ जस्तै धुमपान, मद्यपानले शरीर र मस्तिष्कलाई कमजोर बनाउँछन्। खानु भनेको शरीर धान्नुमात्र होइन जीवन जीउने र जन्मलाई सफल बनाउने खुराक लिनु पनि हो।

यथा खाद्यतेन्नं तथा सम्पद्यते मनः।
यथा च पीयते वारि तथा निगद्यते वचः ।।

अर्थात् “जस्तो अन्न खाइन्छ, त्यस्तै मन बन्छ। जस्तो पानी पिइन्छ, त्यस्तै वाणी (बोली) हुन्छ।” मानिसको व्यवहार, वैभव, ज्ञान र चरित्र निर्माणमा अन्नको महत्वपूर्ण हात हुन्छ। आयुर्वेद, शुश्रुत, चरक, पाकशास्त्र आदिमा अन्नका प्रकृति, पकाउने र खाने तरिकाको वर्णन छन्।

देवतालाई स्मरण गर्दै, प्रशन्न मनले खाना पकाउनुपर्छ। धेरै तेल, नुन, अमिलो, पिरो आदिको प्रयोग गर्नुहुँदैन। मिठोभन्दा पनि स्वास्थ्यवद्र्धक खानुपर्छ। हतारिएर, मनमा कुरा खेलाएर, बोल्दै, रुदै, हाँस्दै खान र काम गर्न हुँदैन।

दिसा-पिसाब गर्दा, श्राद्ध गर्दा, खाना खाँदा, रगत बगिरहँदा, दाँत माँझ्दा, शारीरिक सम्पर्क गर्दा बोल्नुहुँदैन। जुत्ता-चप्पल लगाएर, उठेर, हिँड्दै, गलत सोच्दै र हेर्दै, बासी, पटकपटक तताएको, भोक नलागी खाएमा मन खराब बन्छ।

भोजनलाई अमृत सम्झेर नमस्कार गरी वरिपरि पानी घुमाउने, अग्निमा चढाउने, परमात्मालाई अर्पण गर्ने, चपाएर, प्रशन्न मनले ईश्वरलाई सम्झदै, नबोली, सजिलो आसनमा बसेर, उत्तर वा पूर्वदिशा फर्केर, मन्त्रोच्चारणसहित प्रसाद सम्झिएर, दाहिने हातले सन्तोषपूर्वक खानुपर्छ।

बिहान र बेलुकाको खाना खाँदा मलाई मीठो लाग्यो भनेर, श्राद्धको भोजन खाँदा स्वादिष्ट छ भनेर, विवाह आदि खुशीयालीको भोज खाँदा पूर्ण भएँ भन्दै खानु राम्रो हुन्छ। सबै देवीदेवता बस्ने हुँदा भोजनको वरिपरि पानीले अभिषेक र स्मरण गरिन्छ।

यसपछि परमात्मा, कुलदेवता, अन्नपूर्णा, इष्टदेव आदिलाई अर्पणसहित पाँच प्राणलाई समर्पण गरी साना-साना पाँच गाँस श्वास नफेरिकन खानुपर्छ। उत्तरदिशामा कुबेरको बासस्थान, शीतलता, शान्ति, वैभव, शक्ति आदि एवं पूर्वदिशालाई ज्ञान, ऊर्जा, देवीदेवताको बासस्थान मानिन्छ।

यसकारण अन्नप्राशनमा बच्चालाई उत्तर, खुवाउनेवाला पूर्व फर्कनु राम्रो मानिन्छ। खानु पहिले र खाइसकेपछि पानी पिउनु विषसमान हुन्छ तर फलफूल खान हुन्छ। अर्काको आसनमा बस्न एवं अरुकै नाममा राखेको खाना खान हुँदैन।

श्रद्धाभावले दिएको खानालाई नमीठो भए पनि खुशीसाथ खानुपर्छ। खानालाई पचाउन आवश्यक पर्ने रस पेटले उत्पादन गरी पाचनप्रक्रिया शुरु गर्छ। पाचनप्रक्रिया भनेको आगो बल्न शुरु भएको अवस्था हो। यहीबेला पानी पिउँदा बलिरहेको आगोमा पानी खनाएजस्तै हुने हुँदा पाचनप्रक्रियामा समस्या आई अनेकौँ रोगहरू उत्पन्न हुन्छन्।

खानेबित्तिकै उफ्रने, दौडने, योग र ध्यान गर्ने, मन्त्र जप्ने, नुहाउने, तेल लगाउने, व्यायामलगायतका मानसिक र शारीरिक कर्म गर्नुहुँदैन। चुठेपछि चिसो हातले आँखालाई केही समयसम्म स्पर्श गर्दा आँखा तेजिला बन्छन्, कानलाई छोएमा सुन्ने शक्ति बढ्छ।

कैदीलाई पनि खाना खाँदा हत्कडी फुकाइदिनु भन्ने राजाज्ञा हुन्थ्यो अर्थात् सुखपूर्वक खान दिनु भन्ने मान्यता छ। राजा भोजलाई कालिदासले भनेका थिए “खाँदै हिँड्दिनँ, हाँस्दै बोल्दिनँ, बितेका कुरालाई सोच्दिनँ।

दुई जना कुरा गरिरहेको ठाउँमा तेस्रो व्यक्ति बन्न जाँदिनँ, त्यसकारण म कसरी मूर्ख भएँ?” खान नजान्दा रोगीमात्र बन्दैन मुर्खसमेत हुन्छ। खानाले जीवनमा अर्थ राख्छ, अनर्थ पनि गर्न सक्छ।

भुक्त्वोपविशतः स्थौल्यं शयानस्य रुजस्तथा।
आयुश्चक्रममाणस्य मृत्युर्धावति धावतः।।

अर्थात्, “खानासाथ हिँड्डुल नगरी बस्नाले शरीर मोटो हुन थाल्छ, सुत्यो भने अनेक रोग लाग्छ, सामान्य हिँड्डुल गरे आयु बढाउँछ, दौडे मृत्युलाई निम्त्याउँछ।” पेट नै औषधिको घर र रोगको भण्डार हो। रोगलाई घटाउन र हटाउन खाना एवं खाने विधिमा विचार गर्नुपर्छ।

भुक्त्वा शतपदं गच्छेत् अर्थात् खाएर सय पाइलो हिँड्नु। खानेबित्तिकै वज्रासनमा बस्दा, गाईको मही पिउँदा राम्रो हुन्छ। तक्रं शक्रस्य दुर्लभम् अर्थात् इन्द्रलाई पनि गाईको मही पाउनु दुर्लभ छ भनिन्छ। भोजनान्ते पिबेत् तक्रम् अर्थात् खानाको अन्तमा मही पिउनु।

महीले पाचनक्रियालाई सक्रिय बनाउँछ। उपलब्ध भएमा चरेश वा चाँदीको थालमा खाना खानु, तामा र माटाका भाँडामा पानी पिउनु उत्तम हुन्छ। विशेष धातुबाट बनेका थालले खानामा रहेका हरिताललगायतका विषहरूका जानकारी दिन्छ।

गौतमबुद्ध, दयानन्द सरस्वतीलगायतका महापुरुषहरूलाई खानामा विष खुवाएको चर्चा पढ्न पाइन्छ। खानाले प्राण रक्षा गर्ने हुँदा आफूलाई नरुच्ने, नपच्ने, प्रतिकूल असर गर्ने, खान नसक्ने खाना मागेर छोड्न, पोख्न वा फाल्न हुँदैन। यसले अर्को जन्ममा खान पाउँदैन वा सुदामा हुन्छ, श्राप लाग्छ।

अन्त व्यञ्जनयोर्भागौ तृतीयमुदकस्य च।
वायु संचारणार्थाय चतुर्थमुपकल्पयेत्।।
-याज्ञवल्क्यस्मृति

याज्ञवल्क्यको यो भनाईसँग मिल्ने नेपालीमा उखान छ–पेटको पाँच भागमा तीनभाग खानाले भर्नु, एक भाग पानी र एक भाग हावाले भर्नु (खाली राख्नु) स्वास्थ्यको लागि सर्वोत्तम मानिन्छ। एकैपटकमा धेरै खानुभन्दा ठीक मात्रामा पटकपटक खानु स्वास्थ्यका लागि उत्तम हुन्छ।

शरीरलाई सबै प्रकारका रसहरूको आवश्यक पर्ने हुँदा स्वादिष्ट नलागे पनि अमिलो, टर्रो, तीतो आदि खानुपर्छ। मीठो लाग्दैमा स्वास्थ्यलाई असर पर्ने गरी खाँदा रोगले आक्रमण गर्छ। महर्षि चरकले पनि ठीक मात्रामा खानुलाई दीर्घजीवनको सूचक मानेका छन्।

दुबै हात, खुट्टा र मुख गरी पाँच अङ्गलाई सफा गरी राम्रोसँग चपाएर प्रेमपूर्वक हरेक दिन परिवारका सम्पूर्ण सदस्य एकसाथ बसेर खानुपर्छ। बच्चा, वृद्ध र अग्रजलाई पहिले खुवाउनुपर्छ। पशुपालन गर्दासम्म खाना खाएपछि एक गाँस बचाएर गाई, कुकुर, बिरालो आदिलाई प्रत्येक सदस्यले दिन्थे।

यसले विषम परिस्थितिबाट जोगिन र ग्रहको कुप्रभावबाट मुक्त हुन, पशुपंक्षीप्रति आत्मीयता बढाउन सहयोग गर्छ। अतिथिलाई नखुवाईकन खानाले घरको शक्ति र उन्नतिको नाश हुन्छ। सबैलाई खुवाएर खानु सर्वोत्तम मानिन्छ। परिवारको खाना खाने समय एउटै हुनुपर्छ। आज बिहान ९ बजे खाने, भोलि १० बजे, पर्सी ८ बजे खानुहुँदैन।

यावद् भ्रियते जठरं तावत्स्वत्वं हि देहिनाम्।
अधिकं योùभिमन्येत स स्तेनो दण्डमर्हति।।
-श्रीमद्भागवतपुराण (७।१४।८)

अर्थात्, “जतिले पेट भरिन्छ त्यतिमात्र प्राणीहरूको अन्नमा अधिकार हुन्छ, त्योभन्दा बढी आफ्नो सम्झने चोर हो।” पौरस्त्य ग्रन्थ र नियमअनुसार खाने हो भने भ्रष्टाचार, भोकमरी, हत्या, हिंसा आदिलाई रोक्न न त सुरक्षाकर्मीको आवश्यकता पर्दथ्यो, न त कुनै कानूनका लागि दिमाग, बहसका लागि अर्थकै खर्च गर्नुपर्दथ्यो। कैयौँ स्थानमा भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था छ, कतै अन्नलाई समुद्रमा फ्याक्नुपर्ने बाध्यता छ।

विपन्न अवस्थाको फाइदा उठाएर सम्पन्न राष्ट्रले विकाशका नाममा गरिब राष्ट्रका प्राकृतिक स्रोत एवं साधन, पुरातन धर्म र मौलिक संस्कृतिलाई खाइदिँदैछन्। डलरको ललीपप्मा गरिब राष्ट्रको पुरातत्व, परम्परा, इतिहासमाथि प्रहार गर्दै आन्तरिक द्वन्द्वमा फसाउने काम हुँदैछ।

अफ्रिका महादेशको हालतले यसलाई प्रष्ट बनाउँछ। नेपाललाई यही कुचक्रको भूमरीले तहसनहस गराउँदैछ। हाम्रो खाना खानेशैली, कृषि प्रणाली, जीवनका नियमलाई संसारले अपनाएको भए न त रोगी भेटिन्थे, न त गरिबीले पिसिन्थे, न त भ्रष्टाचारी देखिने थिए।

आफ्ना लागि मात्र पकाउने आदतले बिस्तारै स्वार्थी, भ्रष्टाचारी प्रवृत्तितिर तान्छ। आफ्नै लागि मात्र पकाएर खानु महापाप हो। आफ्नो बारीमा फलेको बाँडेर, अर्पण गरेर खाने, दान गरेर खाने हुँदा घरमा ढोका र झ्याल राख्नुपरेन, लकरको आवश्यक थिएन। कस्तो कमाई खाएको छ? कसरी पकाउँछ? कसरी खान्छ? त्यसको व्यवस्थापन गर्ने हो भने रोग र अपराधलाई रोक्न धेरै हदसम्म सकिन्छ।

भविष्यमा सुख, शान्ति चाहने हो भने सन्तानलाई बाल्यकालदेखि बाँडेर खान, मिलेर बस्न, साधुसन्तलाई भिक्षा दिन, देवीदेवतालाई अर्पण गर्न, पितृलाई समर्पण गर्न सिकाउनुपर्छ। यसले बालमस्तिष्कमा समन्वय र त्यागको भाव जगाउँछ।

चम्चा वा अन्य साधनबाट खाना खाँदा हात सक्रिय हुँदैन, पोषणले लाभ दिँदैन, भोजनमा के परेको छ थाहा हुँदैन। टेबुल, कुर्ची आदिमा होइन भुईंमा बसेर खानुपर्छ। यसले मंगलग्रहको कुप्रभावलाई रोक्छ । भोकै लागेको छ भने पनि पापीले, स्वार्थीले, जुठोमुख भएको एवं दम्भ देखाउन दिएको खाना खानुहुँदैन।

पहिलोपटक पाकेको अन्न, फलफूल आदिलाई देवीदेवतामा अर्पण र छरछिमेकीलाई समर्पण गरी खानुपर्छ । खानालाई नमस्कार गरी अन्नपूर्णे सदापूर्णे ……, ब्रम्हार्पणं ब्रम्हविः……. आदि मन्त्रोच्चारण पछि प्रसाद एवं औषधि सम्झेर खानुपर्छ।

सूर्योदयपछि सूर्यास्त पहिले खानु राम्रो हुन्छ। बेलुकाको खानापछि केही समय हिँड्डुल गरेरमात्र सुत्नुपर्छ। अन्नलाई भन्दा तरकारी, फलफूललाई बढी खाँदा स्वास्थ्य सन्तुलनमा रहन्छ। अन्नमा भन्दा सन्नमा बल अर्थात् अन्नलाई भन्दा पानी, फलफूल र तरकारी धेरै खानुपर्छ भन्ने नेपाली उखान छ।

एकै प्रकृतिको भोजन लामो समयसम्म खाँदा पौष्टिक तत्व कम हुन सक्छ, एक प्रकारको नशा लाग्छ जसले शरीरमा शिथिलता ल्याउँछ। त्यसैले बिहान भात खाए बेलुका मकै, रोटी वा चिउरा आदि आफ्नो अनुकूल बदलेर खाँदा स्वास्थ्यलाई राम्रो गर्छ।

ओछ्यानमा, देवस्थलमा, यज्ञस्थल वा फोहोर स्थानमा बसेर कहिल्यै खान हुँदैन। विधि, समय र प्रक्रिया मिलाएर खाएको अन्नले शरीर र बुद्धिलाई बलिष्ट बनाउँछ । बलिष्ट मानिसले बलियो समाज, असल राष्ट्र र सभ्य नागरिक निर्माण गराउँछ। यसैले धार्मिक, व्यावहारिक र वैज्ञानिक पक्षलाई ध्यानमा राखेर खानुपर्छ।
Content: From DC Nepal (हरिप्रसाद सोडारी)