Спонсоры

कांग्रेस बाहिर ढुक्क, भित्र अशान्त

0
10Кб

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रतिपक्षी एमालेमा खैलाबैला छ । अध्यक्ष केपी ओली लगायत नेताहरु दिनहुँजसो वाद–प्रतिवादमा ओर्लिइरहेका छन् । सत्ता साझेदार कांग्रेस भने ढुक्क देखिन्छ ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केही नेताका टिप्पणी छाड्ने हो भने सभापति शेरबहादुर देउवा लगायत नेताहरु मौन छन् । तर यो हाइसन्चो झट्ट बाहिरबाट देख्दामात्रै हो । कांग्रेसभित्र पनि अशान्ति मडारिएकै छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नु र मुद्दा चल्नु कांग्रेस संस्थापनका लागि सामान्य परिघटना छैन । सभापति शेरबहादुर देउवाका निकट सहयोगी नेता नै यसमा समातिँदा कांग्रेसका कतिपय आन्तरिक गतिविधि नै प्रभावित हुन पुगेका छन् ।

वैशाख २७ मा खाँण पक्राउ परेपछि पार्टीभित्रका गतिविधि ठप्पप्रायः छन् । पार्टी नेतृत्व तथा संरचनाले गर्ने क्रियाकलाप यसै पनि सुस्त नै थिए, तिनमा थप सुस्तता आएको छ ।


भ्रातृ संस्थाले पूर्णता पाउन नसक्नु, केन्द्रीय कार्यसमितिको बैठक आह्वान हुन नसक्नु जस्ता क्रियाकलापलाई नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेरेका छन् । एउटा असन्तुष्ट समूह त पार्टीभित्र व्यापक पुनर्जागरणका लागि भन्दै देश दौडाहामा नै निस्केको छ ।

आजै बिहीबार जनकपुरमा एक कार्यक्रम गर्दै उनीहरुले पार्टी जीवन र मूल्यमान्यता ध्वस्त बनाउन लागिएको भन्दै चिन्ता जाहेर गरेका छन् । मधु आचार्य, गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही लगायतले यसको नेतृत्व गरेका छन् ।

हुन पनि विधानतः २/२ महिनामा बस्नुपर्ने कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १० महिनादेखि बस्न सकेको छैन । पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीय समिति बैठक बसेको थियो । निर्वाचनको समीक्षा गर्नका लागि बैठक आह्वान गर्दै पटक पटक स्थगित गरियो । तीन पटक बोलाउँदै स्थगित गरेर १५ माघका लागि सारेर बैठक बस्नै नसकी अनिश्चितकालसम्मलाई रोकिएको थियो ।

बैठक अनिश्चितकालीन स्थगित गर्नुको कारण पूर्वगठबन्धन तोड्ने प्रयोजनका लागि थियो । नेकपा एमालेको साथ प्राप्त गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि उक्त गठबन्धन तोड्न कांग्रेस सम्पूर्ण रुपमा सक्रिय भयो । सरकारमा सहभागी हुने ध्याउन्नमा पार्टी शक्ति लागेपछि बैठक प्राथमिकतामा पर्ने कुरै भएन ।

केन्द्रमा सत्तामा भागबण्डा गरेको कांग्रेसले गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सरकारको नेतृत्व कांग्रेसले गरेको छ । एमालेका मुख्य मन्त्री हटाएर केन्द्रकै अनुुसारको गठबन्धन बनाउन कांग्रेस प्रयासरत छ ।

पुरानो गठबन्धन ब्यूँतिएर कांग्रेस सत्ता पक्ष हुने चरण सकिएको छ । तथापि, पार्टी संरचनालाई चलायमान बनाउनेतर्फ कांग्रेसको चासो देखिएको छैन ।

केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यहरुले माग गर्दै आए पनि सभापति शेरबहादुर देउवाले सुनुवाइ गरेका छैनन् । वैशाखको अन्त्यतिर केन्द्रीय समिति बैठक बस्ने आशामा धेरै नेता थिए । वैशाख २७ मा पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि नेताहरुको आशा निराशामा परिणत भयो ।

‘केन्द्रीय समिति बैठक बस्ने तयारी हुँदै थियो । बीचमा अलि अलि के के भयो’, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना भन्छिन्,‘अब २/४ मा केन्द्रीय समिति बैठक बस्छ होला ।’

खाँण पक्राउले नेता कार्यकर्ता अशान्त छन्, पार्टी जीवन ठप्पप्रायः छ । भ्रातृ संस्थाहरुले पूर्णता पाउन सकेका छैनन् । खाँणको मुद्दालाई अदालतले किनारा नलाउँदासम्म भ्रातृ संस्थाले पूर्णता नपाउनेमा नेता कार्यकर्ता ढुक्कजस्तै देखिन्छन् । १५ महिनासम्म पूर्णता पाउन नसकेका भ्रातृ संस्थालाई वैशाखमा पूर्णता दिने नेताहरुले बताउँदै आएका थिए ।

भ्रातृ संस्थालाई पूर्णता दिने तयारीलाई समेत खाणको पक्राउले रोकिदियो । भ्रातृ संस्थाको तदर्थ समितिको पूर्ण कार्यसमिति नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको ल्याउने तयारी थियो ।

तरुण दलको हकमा पूर्णता पाउन नसक्नुमा समेत खाँण पक्राउ कारण बन्न पुगेको छ । यसका पूर्वअध्यक्ष रहेका खाँणको तरुण दलमा बलियो पकड रहँदै आएको छ । वर्तमान अध्यक्ष विद्वान गुरुङसमेत खाँण निकट नेता मानिन्छन् । तरुण दलको पूर्वअध्यक्ष रहेका खाँण तदर्थ समितिमा हाबी हुने भएकाले उनको मुद्दा टुंगो लागेपछि पूर्णता दिने पक्षमा कांग्रेस छ । साथै, तरुण दल अध्यक्ष गुरुङ पनि खाँणको मुद्दाको छिनोफानो भएपछि तदर्थ समितिलाई पूर्णता दिने पक्षमा देखिएको उनी निकटहरु बताउँछन् ।

खाँण पक्राउको प्रभावले नेविसंघले पूर्णता पाउन रोकिनुपर्ने कारण थिएन । पार्टीभित्रको तिनै समूहले आफ्नो तर्फको सूची तयार गरेका गरिसकेका छन् । पार्टी शीर्ष तहमा भएको सहमति अनुसार भ्रातृ संस्थाको आकार बढ्ने भएको छ । कार्यसमितिको आकार बढ्ने सहमति अनुसार सूची सबै पक्षले तयार गर्दा समेत नेविसंघले पूर्णता पाउने टुंगो छैन । पूर्णता प्राप्त गर्न नसक्नुमा एकले अर्को पक्षलाई आरोप लगाएको छ ।

संस्थापनइतरबाट सूची नआएकाले तदर्थ समिति बन्न नसकेको संस्थापन पक्षका एक विद्यार्थी नेताको दाबी छ । अर्कोतर्फ, संस्थापनइतरले उक्त बोलीको प्रतिवाद गर्दछ । ‘हाम्रो तर्फबाट नाम तयार छ’, संस्थापनइतरका केन्द्रीय सदस्य भन्छन्, ‘उताको समूहले नै आफ्नो नाम टुंगाउन सकेको छैन । नाम मागे हामीले दिइहाल्छौं ।’

पार्टीको छवि बिग्रदै गएको तथा नेता कार्यकर्तामा ऊर्जा नभएको सबै जसो नेता कार्यकर्ताको बुझाइ छ । तर, पार्टीलाई गतिशील बनाउन र संगठनमा ऊर्जा भर्ने गरी संस्थागत निर्णय हुन सकेको छैन । केन्द्रीय समिति बोलाउने, भ्रातृ संस्थालाई पूर्णता दिने, तल्लो संरचनाले कार्यक्रम गर्ने निर्देशन हुन नसकेको केन्द्रीय सदस्य डा. नारायण खड्का स्वीकार गर्छन् ।

पार्टीको खस्किँदो अवस्थाको आत्म मूल्यांकन पार्टी मूल नेतृत्वबाट नभएको संस्थापनइतर पक्षले आरोप लगाएको छ । पार्टी रुपान्तरणका संस्थागत निर्णय हुन नसकेपछि केही नेताहरु अभियानमा जुटेका छन् । संस्थापनइतरका केही नेताहरुको अगुवाइमा ११ जेठ (आज) बाट रुपान्तरण अभियान सुरु गरिएको छ । पार्टी रुपान्तरणका लागि सभापतिका लागि विकल्प रहेको केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् ।

पार्टीलाई पुनर्जागृत गर्न सभापतिले स्वेच्छाले पद छोड्ने वा रुपान्तरण गर्ने प्रतिवद्धता सहित देउवाले समय माग गर्नसक्ने विकल्प रहेको आचार्य बताउँछन् । ‘कुनै पनि विकल्पमा छलफल नहुने र पार्टी झन् झन् कमजोर हुँदै गयो भने विशेष महाधिवेशन बाहेकको विकल्प देखिएन भनेर साथीहरूले भनेको अवस्थामा स्वाभाविक बाटो हुनसक्छ’, आचार्य भन्छन् ।

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
Literature & Culture
नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर किन नराख्ने ?
नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो...
От Khagendra Raj Sitoula 2023-04-25 15:47:07 0 10Кб
News
International Coordination Council Continues Operations Amid Legal Clarifications
Kathmandu, August 25, 2024 - The International Coordination Council (ICC) of the Non-Resident...
От Hamro Global 2024-08-25 10:34:07 0 4Кб
Sanatan Dharma
कवीन्द्र दाइको ‘मेरो देश, प्रेमको देश’ कविता यात्रा
विश्वलाई प्रेम र मातृभूमिको सन्देश अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनुभएका कवि तथा पत्रकार...
От Yubaraj Sedai 2024-11-13 10:52:41 0 3Кб
Sanatan Dharma
Sanatan Dharma
13 Superior Hindu Sciences Hinduism Now, 5 August 2019 SouthReport.com reports on 13...
От Santosh Sedai 2023-06-08 13:09:29 0 11Кб
Sanatan Dharma
Shikha and Shayna's Guniu Chola
On this momentous occasion of Guniu Chola, We extend my heartfelt wishes to our cherished...
От Yubaraj Sedai 2023-06-18 06:17:30 0 11Кб