Patrocinados

पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कवीन्द्र सिटौलाको विशेष पत्र

0
9K

आदरणीय टीकाराम यात्रीज्यू, नमस्कार !

हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईँको युटुब च्यानलबाट प्रस्तुत भएको ‘कुरा सुन्नु पाकाको’ को पाँचौं शृङ्खलामा लिइएको अन्तरवार्ता हेर्ने अवसर प्राप्त भयो । तपाईँले तयार गर्ने यो लोकप्रिय शृङ्खलामा मेरी मुमाको अन्तरवार्ता समावेश गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन्छु।

पूज्य मुमाको स्मरण शक्ति यथावत् नरहेको अवस्थामा पनि यहाँले आफ्नो व्यस्त समय मिलाएर आठ दशकभन्दा अघिदेखिका वहाँका जीवनका कथा, व्यथा र उत्साहहरू सृजनात्मक, कलात्मक र मनोरञ्जनात्मक रूपमा बाहिर ल्याइदिनुभएकोमा हाम्रो समग्र परिवारका तर्फबाट समेत म पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु। मुमाले सक्दो कोसिस गरे पनि उहाँको कम हुँदै गएको स्मरणशक्तिका कारण तपाईँका केही प्रश्नका उत्तरहरू अपूरा नै भएको अनुभूति भएको थियो। यसै सन्दर्भमा पत्रमार्फत् सम्बोधन गर्ने प्रयत्न गर्दै त्यसका 
लागि तपाईँको केही समय लिन अनुमति चाहन्छु।

सर्वप्रथम तपाईंले शुरु गर्नुभएको ‘कुरा सुन्नु पाकाको’ कार्यक्रमका लागि बधाई ज्ञापन गर्दै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस्ता कार्यक्रमले हाम्रा पूज्य बुबाआमा, हजुरबुबाहजुरआमाजस्ता अघिल्ला पुस्ताका महत्त्वपूर्ण सूचना र अनुभवहरू हामी र हाम्रा सन्ततिका लागि प्रेरणादायी बौध्दिक खुराक हुनेछन्। यो आफैँमा अघिल्लो पुस्ताको सम्मान हो भने पछिल्लो पुस्ताको लागि मागदर्शन पनि हो भन्ने मैले मानेको छु। यहाँले सन्चालन गर्नुभएको कार्यक्रमबाट हाम्रो जीवनको गहिराइ र उचाइमा पुग्न अवश्य सहयोग हुनेछ 
किनभने पाका अनुभवी व्यक्तित्वहरूको ज्ञान र अनुभव हाम्रो जीवनका लागि वास्तवमा नै वरदान र आशीर्वाद हुनेछन्। हाम्रो चिन्तन र कार्यकुशलतामा यस्ता सन्दर्भले अवश्य नै सकारात्मक प्रभाव पार्दछन्।

मानिसको जीवन ज्ञान र अनुभवको महासागर हो। मेरो सानो बुझाइमा यसलाई जान्न हामीले आफ्नै पूर्व जन्मको कर्म लिएर आएका हुन्छौँ। त्यही कर्मका आधारमा अर्को जीवनको जग खडा भएको हुन्छ जसले गर्दा हरेक अर्को जुनीमा हामी अँध्यारोबाट उज्यालो र प्रस्तुत उज्यालोबाट दिव्य उज्यालो ज्योतितिर जाने क्रम अगाडि बढ्छ। यसकै आधारमा आफ्नो कर्मलाई जान्न सक्नु, क्षमतालाई बुझ्न सक्नु जीवनको महत्त्वपूर्ण उपलब्धि हो। जसले यो कुरालाई बुझ्ने कोसिस गरेर जीवनलाई परीक्षण गर्दै उच्च सदुपयाोगका साथ सञ्चालित हुन्छन्, उनीहरू अवश्य आफ्नो कर्मको पहिचान छोड्दै इतिहास बनाएर अर्को पुण्य कर्म प्राप्तिका लागि अन्तर्चेतनाको ढोका खोल्दै अझ सचेत र सक्रिय हुनेछन्। यसै क्रममा आत्माको सुन्दर यात्रा निरन्तर निर्मलतातिर बढिरहने छ। यहाँले लिनुभएको हाम्री पूज्य मुमाको अन्तरवार्तामा जानकारीका लागि सोध्नुभएको एउटा प्रश्नको उत्तर, जसमा उहाँ पूर्ण विस्मृत हुनुभयो, म त्यसलाई मात्र पूरा गर्ने प्रयत्न गर्दैछु। यहाँलाई मुमाले छोराभन्दा प्रिय भनेर ग्रहण गरिरहँदा तपाईंले आफूलाई नाति सरहको भन्न रुचाउनुभयो । तथापि तपाईं र म दाइ, भाइ नै हौँ किनभने तपाईंकी आमा मेरी पनि पूज्य आमा नै हुनुहुन्छ। मेरो जीवनको यात्राका क्रममा भेट हुने प्रत्येक मानव मनबाट म केही सिक्ने कोसिस गर्छु। त्यो पलको लागि ऊ मेरो गुरु हुन्छ। तपाईंका कार्यक्रमहरूबाट मैले धेरै ज्ञान लिएको छु। यस अर्थमा तपाईं मेरो गुरु पनि हुनुभयो र यो मेरो जीवन यात्रामा भेटिने सबै मानवलाई म गुरुमित्रका रूपमा सम्मानपूर्वक ग्रहण गर्दछु। शास्त्रअनुसार सोह्र वर्षभन्दा माथि पुगेपछि जो कोही पनि मित्रबराबर हुने भएकाले तपाईं मेरो मित्र पनि हुनुभयो। आफ्नो दाइ भाइ, मित्र मात्र होइन सबैसित सधैँ सत्य बोल्नुपर्छ र अरूलाई परेका बखत जस्तो पनि सहयोग गर्नुपर्छ भन्ने ज्ञानलई हामी सबैले आत्मसात गर्नुपर्छ भन्ने कुरा गुरु, तथा मान्यजनहरूबाट सुन्दै आएका छौँ, जुन जीवनको पाँच दशक कटेको यो समयमा आएर व्यक्तिगत रूपमा म स्वयंले अझ व्यावहारिक रूपमा स्वीकार गरिरहेको छु।

तपाईंले पूज्य मुमालाई सोध्नु भएका प्रश्नमध्ये ‘तपाईंका अहिले छोरानाति कोको छन्? कहाँकहाँ पुगेका छन्, कस्तो काम गर्दै छन्? सबैका बारेमा भन्दिनु न, सम्झे जति?' मार्फत परिवारको बारेमा जानकारी लिन उत्सुकता जनाउनुभयो तर यो प्रश्नको पूरा उत्तर दिन पूज्य मुमालाई गारो भयो। उहाँको उमेरसँगै आएको विस्मृतिका कारण यसो हुन गएको कुराको सामान्य आकलन सहजै गर्नसकिन्छ । उहाँको सबैभन्दा कान्छो छोरा भएर पनि म स्वयं यस प्रश्नको पूरा उत्तर दिन असमर्थ रहेको महसुस गर्छु र उत्तर खोज्ने प्रयास गर्छु। चौरानब्बे वर्षकी मेरी पूज्य मुमालेजस्तै म पनि सबैलाई चिन्दिनँ र भौतिक रूपमा भन्नुपर्दा जीवनका विविध कर्म र कर्मक्षेत्रका कारण हामी एकअर्कासित अलग भएको बर्सौं भइसक्यो । हाम्रा नातेदार, आफन्तमा कति नयाँ सन्तति जन्मिसकेका छन्, त्यसबारे म आफैँ पनि सूचना लिन सक्ने अवस्थामा छैन। चिन्तन तहमा गएर भन्नुपर्दा मैले आफैँलाई चिन्नसकेको छैन र आफैँलाई चिन्नमा व्यस्त रहेको हुनाले परिवारका अन्य आदरणीय सदस्यहरूको बारेमा जानकारी लिन पर्याप्त समय पाइरहेको छैन। अहिले यही कौतुकका कारण म स्वयं मुमाको व्यापक परिवार कति ठूलो छ, त्यसको जानकारी लिन प्रयत्न गरिरहेको छु।
 
अहिले चलेको पारिवारिक परिभाषामा भन्नु पर्दा म मनमाया मैनाली सिटौलाको कोखबाट जन्मिएको र ठूलीआमा (पिताजीकी जेठी श्रीमती) लक्ष्मीदेवी पाठक सिटौलासमेतका एकै बाबुका एघार जना छोराछोरीमा  सबैभन्दा कान्छो हुँ र हामी सबैको बाल्यकाल र अहिलेको समय पनि अत्यन्त प्रेममय रूपमा बितिरहेको थियो र छ। यी सबैबाट फैलिएका परिवारहरूको पहिलो घेरा चौरासी जनाको छ। यसबाहेक मैले यहाँलाई जानकारी गराउनुपर्छ कि मेरो जीवनकालमा घरायसी किसिमले मैले छजना आमाहरूसित सम्पर्क गर्न पाएको छु। तिनमा व्यावहारिक सम्भावनामा चार आमाहरूसँग मात्र बढी सम्पर्कमा रहन पाए पनि मेरा सात आमाहरू हुनुहुन्छ र मेरो काइँलो दाइ देवेन्द्र सिटौला बाल्यकाफमा नै बितिसक्नुभएको हो अनि केही पहिले हाम्री एक भतिजी लीलादेवी पनि बितेकी हुन्। हाम्रा बुबाका चार दाजुभाइमा अहिले कोही पनि जीवित हुनुहुन्न। आठ जना फूपुहरूमा कान्छी फूपु कमला ओली झापा जिल्ला बिर्तामोडमा नब्बे वर्षको उमेरमा पनि सक्रिय जीवन बिताइरहनुभएको छ।

पिताजीका दुई श्रीमती अर्थात् हाम्रा दुईजना आमामध्ये पिताजी र मेरी ठूली आमा लक्ष्मीदेवी सिटौला अहिले अनन्तमा आकाशमा पुण्यात्माका रूपमा विचरण गरिरहनुभएको होला अथवा उक्त आत्माले अर्को जन्मको भोग प्रारम्भ गरेहोला।  मेरी ममतामयी कान्छी काकी देउमाया सिटौला अहिले झापाको चारपानेमा सय वर्षको उमेरमा रमाइरहनुभएको छ। उहाँले पुराना यादहरू सबै ताजै राख्नुभएको छ। अर्की सातौँ आमा मेरी मुमाकी बहिनी अथवा हाम्री सानिमा हाम्री गुरुआमा माता जननी हरिकला चुडाल गर्ग काठमाडौँको बानेश्वरमा हुनुहुन्छ। वहाँ हामी सबैकी ज्ञानमाता हुनुहुन्छ । वहाँलाई दिव्यज्ञान प्राप्त भएको छ। जीवनयात्राका क्रममा मैले अर्की आमा रमला अधिकारी पराजुली र वहाँको परिवारलाई भेटेर वहाँहरूको अनौठौ प्रेम र सद्भावनाको अनुभूति गर्ने सौभाग्य प्राप्त गरिरहेको छु। हाम्रा आमाहरूको परिवार मात्र बुझ्नलाई विशेष गरी ताप्लेजुङ, तेह्रथुम, झापा नुवाकोट, मकवानपुर आदि जिल्लाहरू र काठमाडौँ महानगरपालिका, वीरगञ्ज महानगरपालिकालगायत नेपालका अन्य धेरै स्थानका साथै भारतको असम र नेपाली डायस्पोरामा भएका विपुल आफन्त वहाँहरूका परिवार हुन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।

यसबाहेक भावनात्मक रूपमा भन्नुपर्दा विश्वमा रहेका सारा नेपाली र प्रत्यक्षपरोक्ष रूपमा सम्बन्धित भएका अन्य भाषाभाषीहरू अथवा सम्पूर्ण मानवजाति नै आमाका सन्तान हुन्। भनौँ भने यो सारा सृष्टि चराचर नै मातृतत्त्वको सन्तान होइन त?  यो व्यापकता अन्य सबै मातापितामा पनि लागु हुन्छ।

यात्रीज्यू, वास्तवमा धर्ती माताको परिवार कति ठूलो छ, कस्तो छ त्यो कुरा बुझ्न हामीले सृष्टिको परिवेशमा जानु आवश्यक हुन्छ भन्ने म ठान्दछु । यस्ती महान् धर्तीमाता र यस्ता ममतामयी मानवी आमाहरूका सन्तानहरू किन कोही यसरी निर्दयी अथवा गुणवान्, दुखी र सुखी अनि कोही साधारण र फेरि कोही चाहिँविलक्षण प्रतिभाका असाधारण व्यक्तित्व भए ? यही कुरा बुझ्न म उत्सुक छु र ज्यादै जिज्ञासु छु। म यसैको वास्तविक र आत्मिक खोजीमा भौँतारिरहेको छु।

प्रिय यात्रीज्यू, म तपाईंले पूज्य मूमालाई राख्नु भएको प्रश्न ‘अहिले छोरा कस्तो काम गर्दै छन्? कै उत्तर समेट्ने प्रयासमा छु। म के गर्दै छु भन्ने सन्दर्भमा  केही तथ्य समेट्न खोजिरहेको छु। हामी नेपाली जातिहरू मिलेमा हामीले व्यापक रूपमा नयाँनयाँ सिर्जना र आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएर  त्यसैको अभियनमा अग्रसर भइरहेको छु। साथसाथै अर्कातिर आफू शान्त ध्यानमा बसेर आफैलाई  चिन्ने चेष्टा गर्दैछु। म प्रेमका बारेमा मेरा केही धारणा राख्न चाहन्छु, पृथ्वीमा म आएको यसलाई चिन्ने र बुझ्ने अनि फैलाउने मेरो कर्म हो भन्ने मलाई अवगत भएको छ। मेरो बुझाइमा यो संसार जुन रूपमा अगाडि बढ्दै गइरहेको छ, अबका दिनमा प्रेम,ध्यान  र ज्ञानको शक्तिले मात्र विश्व समृद्धशाली र सुखमय बन्न सक्छ। मेरो साधनाकै क्रममा अहिले मलाई यही मेरो कर्म हो भन्ने कुरा प्रस्ट हुँदै आएको छ। मेरो बुझाइमा हामी प्रत्येक मानव स्वयंमा प्रेम हौँ तर हामीले यो ज्ञान बिर्सिएका छौँ। त्यसैले हामी सृष्टितत्त्वको सत्यलाई गहन रूपमा मनमा सम्झेर के विश्वास गरौँ भने जहाँजहाँ हामी जान्छौँ त्यहीँ त्यहीँ प्रेमका बिम्बहरूले वातावरण प्रेममय र सुन्दर बनाउन सक्छौँ।

प्रेम आफूभित्र हुन्छ, शाश्वत प्रेम निसर्त हुन्छ। यो अरूले आफूलाई दिएपछि मात्र प्रत्युत्तरमा दिइने कुरा होइन । निरपेक्ष रुपमा आफूबाट प्रवाह भइरहने प्रेमले कसैलाई सहयोग पुर्याउन सक्छ, कसैलाई करुणामय रूप दिन सक्छ, कसैलाई उत्साह भरिदिने माध्यम बनिदिन सक्छ। आफूबाट प्रवाहित भएको यो निसर्त प्रेम अरूमा प्रक्षेपण हुँदा एकै रूपमा प्रक्षेपित हुन्छ भन्ने छैन। प्रेम बुझ्न अरूको पीडा, समस्या र करुणालाई अनुभूति गरेर त्यो व्यक्ति वा परिस्थितिमा आफूलाई  रूपान्तरण अथवा समानुभूत गरेर त्यो व्यक्ति वा परिस्थितिलाई सच्चा र निस्वार्थ ढङ्गले सहयोग गर्नु नै प्रेम दिनु हो र त्यही मुहूर्तमा नै सच्चा प्रेमको उत्पत्ति र कार्यान्वयन हुन्छ भन्ने कुराको मलाई गहिरो विश्वास र ज्ञान भएको छ।

यात्रीज्यू, म एक साधारण जिज्ञासु कवि हुँ र कविताबाट आफ्ना भावना व्यक्त गर्ने कोसिस गरिरहेको छु। म नेपालजस्तो राष्ट्रको जिउँदो शहीदमध्ये एक हुन पाएकोमा गौरवान्ति महसुस गरेको छु र यसलाई अहोभाग्य प्राप्त गरेको ठानेको छु। जीवन जिउनका लागि मात्र होइन उत्कृष्ट सेवा दिन र विशिष्ट कर्म गर्न हो। यतिमात्र नभई परिवर्तनका लागि बलिदान दिन तयार हुनुपर्छ भन्ने मेरो विश्वास छ।

प्रिय यात्रीज्यू,
विज्ञान र प्रविधिका माध्यमबाट हामी जतिजति द्रूत गतिमा विश्व मानव जगतमा, उन्नति र प्रगति गर्दै आर्थिक र अन्य समृद्धिको चमत्कार देखाइरहेका छौँ त्यति नै अर्को पक्षबाट लोभी र पापी हुँदै मानवतामाथि निर्दयी हुँदैछौँ। मानवतालाई मार्दैछौँ अनि आपसी भाइचाराबाट टाढिँदैछौँ। यसको मूल कारण, हामी अध्यात्ममा धनी र दानी भएर पनि झन्झन गरीब बन्दै गइरहेकाछौँ भन्ने महसुस भएको छ।

मानवताभित्र दानवता थाहा नै नपाई छिरेको छ। त्यसलाई प्रेम, ध्यान र ज्ञानका बलले मात्र हटाउन सकिन्छ भन्ने  विश्वास ममा प्राप्त भएको छ । जब मानवआत्मा परमात्मासँग मिल्न थाल्दछ तब दिव्य ज्ञान र शक्ति  प्राप्त हुन थाल्दछ। जब मान्छे भगवानको चेतनामा पुग्दछ र त्यस्तै सोच राख्दै आफ्नो सामर्थ्य स्मरण गर्दै कर्मज्ञान पहिचान गर्छ।

त्यसैले मेरा आमा र गुरुहरूबाट प्राप्त ज्ञान र सन्देशका माध्यमले अन्तरआत्माबाट प्रेमलाई ब्युँझाउन, ज्ञानमा गएर अध्यात्म जगाउन र अझ एकताबद्ध हुने सन्देश विश्व मानव जगतमा पुर्याउन, प्रेमको एक जिज्ञासु विद्यार्थीहुदै नवयुगको परिवर्तनलाई तीब्रता दिन एक सहयोगीका रूपमा कार्य गर्न मलाई आज्ञा भएको छ भन्ने पूर्ण विश्वास जागेको छ। यसका लागि मैले मेरी प्रेमिका एवम् जीवनसाथी रञ्जिता पराजुली सिटौला, तेह्र वर्षकी मेरी प्रिय छोरी कृपा सिटौलाको पूर्ण साथ र सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण विश्वास राखेको छु, साथै मेरो अभियानमा सम्पूर्ण आमाहरूका परिवारहरूको पूर्ण साथ र सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण विश्वास राखेको छु।

कुनै रगतको नाता, थर, जात, वर्ग, रङ्ग, आस्था अनि भौगोलिक सीमा र रेखाभित्र मात्र परिवार सीमित हुँदैन भन्ने मेरो बुझाइ छ। यसको गहिराइ र व्यापकता बुझ्न, यसको परिभाषालाई फैलाउन र हाम्रो परिवारका नयाँ सदस्यहरूबाट सिक्न, भावना, शुभकामना, खुसी, हाँसो, ज्ञान र अनुभव आदि कुराहरू आदानप्रदान गर्न प्रेमबाट सुख  शान्ति, समृध्दि, आत्मीयता र परिवर्तनको सन्देश बोकेर, सोही मर्म र धर्मलाई आत्मसात् गरेर गाडीबाट विश्व भ्रमण गर्ने तयारी गरेको छु। मैले यसको जानकारी मलाई जन्मदिने माता मनमाया सिटौलाको चौरानब्बेऔं शुभ जन्मोत्सवको पावन अवसरको पवित्र दिन २०८० साल मङ्सिर ३ गते तदनुसार नोभेम्बर १९ मा अमेरिकाको भर्जिनियामा  देवकोटा जयन्ती मनाउँदै गरेको पवित्र दिन पारेर बन्दै गरेको नेपाली अमेरिकन सामुदायिक भवनको प्राङ्गणमा नेपाल  प्रज्ञा प्रतिष्ठानका आदरणीय कुलपति भुपाल राईज्यू तथा अन्य पदाधिकारीज्यूहरु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का बोर्ड अफ 
ट्रस्टीका सभापति पदम विश्कर्मा, केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजा एवं आदरणीय पदाधिकारीज्यूहरू, न्याक का अध्यक्ष डा. मदन उप्रेती, उप सभापति विना खड्का लामा  तथा पदाधिकारीज्यूहरु, मेरा आदरणीय प्रिय मित्रहरू, मेरा आदरणीय जेठा दाजु विशिष्ट साहित्यकार प्रा.मोहन सिटौला लगायत अन्य विशिष्ट समाजसेवीहरुको समुपस्थितिमा मेरो यात्राको जानकारी सार्वजनिक गर्ने अनुपम सुअवसर प्राप्त भएको हो ।

यसरी नै मेरो यात्राको शुभारम्भ वरिष्ठ साहित्यकार कृष्ण धरावासी, मञ्जु विमली र अमेरिकाको भर्जिनियाका समाजसेवी दम्पती गोविन्द र मन्दिरा मैनालीको पवित्र निवासमा उहाँहरूको परिवार र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं कविता विभाग प्रमुख बाबा वस्नेत र परिवारको समुपस्थितिमा कविता वाचन र मेरो यात्रा भिडियो देखाएर मलाई कर्म दिने माता जननी हरिकला गर्गले दिव्य ज्ञान प्राप्त गरेको अलौकिक दिन मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२ मा विश्व यात्राको शुभारम्भ गरेको छु।

 

अहिले भन्दा ३२ वर्ष अघि सन १९९१ मा  नेपालबाट अमेरिका यात्रामा मेरो पहिलो मित्र आदरणीय साथी जनक केसीलाई अमेरिका उत्रिएको दिन डिसेम्बर २६, २०२३ मा आर्लिङ्गटनमा भेटेर यात्राको आशीर्वाद र शुभकामना पनि प्राप्त गरेँ । हामी संयोगले भर्जिनियामा आर्लिङ्गटनको एउटा एपार्टमेन्टमा आाएका थियौं ।

त्यस्तै म अमेरिका आएको भोलिपल्ट नै उहाँको छोरीको विवाहमा निमन्त्रणा गर्नुहुने र कविता लेख्न सोही दिन प्रेरणा दिनु हुने अनेसासका पिता आदरणीय  होमनाथ सुवेदीज्यूबाट अमेरिका आएको ३२ वर्ष पूरा गरेको दिन मा गएर आशीर्वाद लिएँ।  

 
प्रिय यात्रीज्यू, मेरी आमालाई सोध्नुभएको जुन प्रश्न थियो, त्यसको अपूरो उत्तर अपूरो नै रहेको छ ।  मैले आफ्ना बारेमा मात्र थोरै भन्न सकेँ।

यात्रीज्यू,यस्तो किसिमको यात्रा हामी नेपाली जातिको पहिलो यात्रा भएको हुँदा यसलाई साहस र सपनाको यात्रा, सृजना र समृध्दिको यात्रा, एकता र भाइचाराको यात्रा, प्रेम र खुशीको यात्रा, नयाँ पहिचान र इतिहासको यात्रा संझिंदै  यसलाई नयाँ जीवन र चेतनाको खोजीको रूपमा पनि लिएको छु र सबैलाई यसरी नै लिइदिनु हुन तपाईंमार्फत हार्दिक अनुरोध गर्दै, सफलताको लागि सहभागिता जनाई साथ सहयोग दिनुहुन पनि जोडदार अनुरोध गर्दछु। साथसाथै नेपाल सरकार, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अन्य सबैसंस्थाहरु लगायत विदेशमा रहने सबै महानुभावहरूलाई साथसहयोगको लागि यही पत्रमार्फत जानकारी गराउँदै अनुरोध पनि गर्दछु। मलाई नजिकमा बसेर माया गर्ने सबै महानुभावहरू र मलाई हिम्मत दिने डेलीगेट माननीय ह्यारी भण्डारी, कविहरू सुदीपभद्र खनाल, ऋषभदेव घिमिरे, नीलकण्ठ सुवेदी, जगन्नाथ पौडेल, शिव लामिछाने, प्रिय भाइ मनीष पोख्रेललगायत अन्य प्रेरणादायी सुपात्रहरूमा यही पत्रमार्फत हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मलाई आशीर्वाद र असीम ऊर्जा प्रदान गर्नुहुने श्रद्धेय गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपालप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

तपाईंलगायत सबैको प्रेमपूर्ण एवं एकताबद्ध साथ, सहयोग र सहभागिता एवम् आशीर्वादका लागि यही पत्रमार्फत् सबैलाई विनम्र अनुरोध गर्दछु । यो युग रूपान्तरणको समयमा साझा उद्देश्यलाई अभियानका साथ व्यापक रूपमा सबैमा पुर्याइदिनुहुन सविनय निवेदन गर्दछु ।
अन्तमा, मेरो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ मा समेटिएको ‘प्रेम’ कविताका केही हरफ यहाँसम्म बाँड्न अनुमति माग्दछु। यो लामो पत्र पढ्न तपाईँले दिनुभएको अमूल्य समयका लागि पुनः हार्दिक धन्यवाद !
सफलताको लागि हार्दिक  शुभकामना ।
 
प्रेम:
प्रेमको कुनै रूप हुँदैन
प्रेमको कुनै रङ्ग हुँदैन
प्रेमको कुनै बास्ना हुँदैन
प्रेमको कुनै आकार हुँदैन
प्रेमको कुनै सीमा हुँदैन
 
सृष्टि हो प्रेम
शक्ति र आशीर्वाद हो प्रेम
गीत र सङ्गीत हो प्रेम
वर्तमान र भविष्य हो प्रेम
हर खुसीको अदृश्य जादु हो प्रेम !

अब, आफैँलाई र जीवनलाई प्रेम गरौँ,
परिवार परिवारलाई प्रेम गरौँ
आाफ्नो जन्मभूमि र जनतालाई प्रेम गरौँ,
आाफ्नो कर्मभूमि र कर्मलाई  प्रेम गरौँ,
सबै आस्था र मानवतालाई प्रेम गरौँ,
 
प्रकृति र विश्व ब्रह्माण्डलाई प्रेम गरौँ,
प्रेमभित्रको प्रेमलाई प्रेम गरौँ  !
  
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः 
ॐशान्तिः 
ॐ शान्तिः !

— कवीन्द्र सिटौला ‘जिज्ञासु’
अमेरिका 

Like
1
Patrocinados
Buscar
Patrocinados
Categorías
Read More
Literature & Culture
🕊️ Divine Guidance or War Manual?
A Layman’s Reflection on the Messages of the Quran, Bible, and Bhagavad Gita If God is...
By Bharat Updates 2025-05-21 05:33:13 0 842
Personal
Happy New Year २०८१
In the grand stage of existence, nature's lessons unfurl,Teaching us the rhythm of change, in a...
By Yubaraj Sedai 2024-04-13 17:25:21 0 4K
News
भारतीय सरसफाइ कर्मचारीकी छोरी यूएनएचआरसीमा, दलितको उत्थान गरेकोमा देशको प्रशंसा
जेनेभा। सरकारी छात्रवृत्तिमा स्विट्जरल्याण्डमा पिएचडी गरिरहेकी भारतको इन्दोर सहरकी एक सरसफाइ...
By Nepal Updates 2023-04-29 01:52:51 0 8K
Literature & Culture
Are you someone who is passionate about Sanatan stories, values, cultures, and traditions?
Do you have a thirst for knowledge and a desire to learn more about your heritage? If so, then we...
By Yubaraj Sedai 2023-05-07 06:47:06 0 13K
News
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा
काठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष...
By Nepal Updates 2023-05-03 10:46:18 0 10K