Sponsor

पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् !

0
11K

काठमाडौं । बुधबार बिहान एकाएक पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई कार्यालय समयभित्र अदालत लैजाने निश्चित थियो । जिल्ला अदालत भवनको ठीक पारिपट्टिको भवनमा रहेको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस हुने तय भयो । ठाउँको अभाव भएर जिल्ला अदालतले वन कार्यालयको परिसरमा केही इजलास सञ्चालन गरिरहेको छ ।

२९ नं. न्यायाधीश उत्तम सिलुवालको इजलासमा पक्राउ परेका र म्याद थप गराउन ल्याएका थुनुवाहरूको ठेलमठेल भीड थियो । केहीबेरमा प्रहरीले पूर्व गृहमन्त्री खाँणलाई लिएर आयो । खरानी रंगको कोट, नीलो पाइन्ट, छालाको जुत्ता, चस्मा र क्याप लगाएका खाँणलाई प्रहरीले हत्कडी लगाएको थिएन ।

अदालत प्रवेश गराउनासाथ उनलाई इजलाससँगै जोडिएको फाँटमा कुर्सीमा राखियो । दुई डीएसपी सहित प्रहरीको टोलीले उनलाई सुरक्षा दिइरहेको थियो । त्यहीबीचमा कानुन व्यवसायीहरूको ठूलो भीड इजलासमा प्रवेश गर्न खोज्यो । प्रहरीले रोक्यो । ठेलमठेल भीड भएपछि प्रहरीले इजलास कक्षको भित्रबाट चुकुल लगाइदियो । अनि खाँणका कानुन व्यवसायीहरूले बोलाएकाहरू मात्रै भित्र जान पाए ।

पालो आएपछि फाँट रहेको कोठाबाट इजलास प्रवेश गर्नासाथ खाँण अलमलमा परे । उनलाई कानुन व्यवसायी बस्ने अघिल्लो लाइनमा राखियो । केहीबेरमा अदालतका कर्मचारीहरूले उनलाई पछिल्लो लाइनमा राखे । उनको अनुहार अस्थिर देखिन्थ्यो, बारम्बार छट्पटाइरहेका थिए ।

केहीबेरमा म्याद थपका लागि उनको पालो आयो । त्यतिबेला इजलासमा रहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसी उभिए । उनले खाँणलाई पक्राउ गर्नुको कारण र औचित्य मागे । अनि राज्यको उच्च पदमा बसेका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिलाई अनाहकमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।

‘उहाँले तीन दिनअघि प्रहरी कार्यालयमा गएर मैले अनुसन्धानमा सहयोग गर्छु भनिसक्नुभएको रहेछ । त्यस्तो व्यक्तिलाई जरूरी पुर्जी दिई किन पक्रेको हो ?’ वरिष्ठ अधिवक्ता केसीले भने, ‘पक्राउको औचित्य पुष्टि हुनुपर्छ, नभए हाजिरी जमानीमा छाडियोस् ।’

उनको भनाइलगत्तै पूर्वमन्त्री खाँणले टाउको हल्लाए । ‘म प्रहरी कार्यालय गएको होइन’ उनले छेवैमा बसेका अधिवक्ता योगेन्द्र अधिकारीलाई भने, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्छु भनेको हो । प्रहरीमा गएको होइन ।’ त्यसपछि वरिष्ठ अधिवक्ता केसीले आफ्नो भनाइ सच्याए, ‘आवश्यक परे प्रहरीलाई सहयोग गर्छु भनेको मानिसलाई यसरी पक्रन ठीक भएन ।’

केसी लगत्तै नेपाल बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले केही प्रक्रियागत प्रश्न उठाए । र, उनले आफूलाई बारको अध्यक्षको रूपमा प्रस्तुत गरेनन् । वरिष्ठ अधिवक्ता महादेव यादवले पनि उनलाई अचानक बिहान घरबाट ‘उठाउनु’को कारण मागे ।

उनीहरूबीच बहस चल्दै गर्दा एगराज पोखरेल र वरिष्ठ अधिवक्ता गान्धी पण्डितबीच कसले पहिले बहस गर्ने भन्नेमा भनाभन भयो । चर्काचर्की परेपछि अरूले हस्तक्षेप गरेर सामसुम पारे ।

करिब डेढ घण्टाको अवधिमा पटक–पटक घडीतिर आँखा डुलाइरहेका न्यायाधीश उत्तम सिलुवाल सुनुवाइका क्रममा मौन रहे । एकपटक उनले सोधे, ‘अरू यस्तै प्रकृतिका घटनामा हामीले निश्चित दिन थुनामा राख्ने अनुमति दिने गरेका छौं, यो घटनालाई फरक ढंगले हेर्नुपर्ने हो भने त्यसको कारण र औचित्य के होला ?’

अधिवक्ता एगराज पोखरेलले गृहमन्त्री भइसकेका खाँण कतै भागेर नजाने दाबी गरे । र, आवश्यक परे नेपाल बार एशोसिएसनले त्यसको जिम्मा लिने भन्दै छेवैमा बसेका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई देखाए ।

अरू कानुन व्यवसायीहरूले समेत घिमिरेलाई देखाउँदै बार नै यहीं रहेकाले खाँणको जिम्मा लिन तयार रहेको भन्दै इजलासको ध्यानाकर्षण गराए । त्यसपछि बार अध्यक्ष घिमिरेले भने, ‘म व्यक्तिगत रूपमा जिम्मा लिन तयार छु, संस्थागत होइन ।’ उनले पटक–पटक यही भनाइ दोहो¥याए ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले मुद्दा परेको व्यक्तिले प्रमाण नष्ट गर्ने, भागेर जाने अवस्था नभएमा धरौटी वा जिम्मा–जमानीमा छाड्न सकिने भन्दै खाँणको हकमा पनि त्यही हुनुपर्ने दोहो¥याए । त्यसपछि साँघुरो इजलासमा खाँणको पक्षमा वकालतनामा दर्ता गराउने कानुन व्यवसायीहरूको भीड बढ्यो ।

बहस गर्ने केहीले ‘पक्राउ पुर्जी जारी भएर पनि टोपबहादुर रायमाझीलाई पक्राउ गर्न नसकेको प्रहरीले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका खाँणलाई किन जरूरी पक्राउ पुर्जी दिएको भन्ने प्रश्न गरे । एकपछि अर्को गर्दै कानुन व्यवसायीहरूले बहस तन्काइरहेका थिए ।

पहिलेदेखि नै इजलासमा आउजाउ गरिरहेका अधिवक्ता स्वागत नेपालले बहसका लागि समय माग्न खोजे । खाँण र उनका कानुन व्यवसायीहरूले नेपाल आफ्नो तर्फबाट नभई जाहेरवालाहरूको तर्फबाट बोल्न आएको मेसो पाए ।

कानुन व्यवसायीहरूले पूर्वमन्त्री खाँणलाई त्यो कुरा सुनाए । उनले अधिवक्ता नेपालको हात अलि जोडले ताने, चरप्प समाए र अड्याइरहे । अनि नमस्कार गरे । उनले नेपाललाई भने, ‘प्लिज, तपाईंले मेरो विरुद्ध बहस नगरिदिनुहोस् !’

उनले ‘कसैको विपक्षमा नभई पीडितको पक्षमा बहस गर्न लागेको’ भन्ने जवाफ दिए । उनले भने, ‘होइन, तपाईं नबोल्दिनुहोस् न ।’ पछि खाँणको पक्षमा वकालत गरेका केही कानुन व्यवसायीहरूले पनि इजलासमै अधिवक्ता नेपाललाई बहस नगरिदिन आग्रह गरिरहे ।

सबैको बहस सकिएपछि अधिवक्ता नेपालले इजलासको ध्यानाकर्षण गराए र आफ्नो कुरा राखे । उनले ठगी मुद्दामा पक्राउ परेका दुईजना रामशरण केसी र गोविन्दकुमार चौधरी हत्कडीसहित बाहिर उभिंदा पूर्व गृहमन्त्रीलाई ससम्मान इजलासमा राखिएकोमा आपत्ति जनाए ।

उनले भने, ‘आज उपस्थित गराइएका रामशरण केसी र गोविन्दकुमार चौधरी बाहिर छन् । नक्कली भुटानी बनेर भैंसी र जग्गा बेचेर, ऋण खोजेर यी राजनीति गर्ने र प्रशासन चलाउनेलाई घुस खुवाएर जसरी पनि विदेश जान बाध्य यी दुई युवा बाहिर छन् । यिनको पक्षमा बोल्ने यहाँ कोही छैन ।’

उनले पूर्वगृहमन्त्री खाँणतिर हेर्दै राजनीति गर्नेहरूले नेपालीलाई नक्कली भुटानी बनाएर बेचिरहेको बताए । ‘हामीलाई नेपालीको रूपमा बेच्ने कि नक्कली भुटानी बनाएर बेच्ने भन्ने मात्रै यिनको प्रश्न हो । पूर्वगृहमन्त्री यहाँभित्र कुर्सीमा बसिरहँदा अहिले पनि ती दुई युवा बाहिर उभिइरहेका छन्’ उनले भने, ‘हामीले ऋण–धन गरेर ल्याएको पैसा यिनलाई बुझाएर नक्कली भुटानी बनेर बेचिन बाध्य छौं । म अदालतभित्र भएको यो असमान व्यवहारप्रति खेद व्यक्त गर्दछु ।’

उनको बहसपछि पूर्वमन्त्री खाँणको अनुहारमा अँध्यारो पोतियो । बहस सकिएपछि न्यायाधीश सिलुवालले सबै जनालाई बाहिर गएर बसिदिन आग्रह गरे । तर, खाँणलाई प्रहरीले घेरेर इजलासमै राख्यो । त्यसपछि पालो आएका अरू थुनुवालाई हातमा हत्कडी र जीउमा ‘थुनुवा’ लेखिएको गञ्जी लगाएर इजलासमा लगिंदै थियो । पछि इजलासबाट आदेश भयो, ‘तीन दिन थुनाको अनुमति हुने ।’

Sponsor
Zoeken
Sponsor
Categorieën
Read More
News
Nepal News Headlines  - September 28, 2024
1. Nepal and China Commit to Key Connectivity Projects Nepal and China have agreed to advance...
By Nepal Updates 2024-09-28 06:16:25 0 7K
Political Leaders
Lies of Arvind Kejriwal
Embedded YouTube Videos and Links 1. Kejriwal fixing interview with AAJ Tak journalist Punya...
By Bharat Updates 2024-05-22 09:14:09 0 9K
Politics
अल्पसंख्यकों को सशक्त बनाना: मोदी की नीतियों पर एजेंडा-संचालित दृष्टिकोण का विमोचन
परिचय: पश्चिमी मीडिया अक्सर भारतीय प्रधान मंत्री नरेंद्र मोदी को अल्पसंख्यक विरोधी के रूप में...
By Bharat Updates 2023-05-26 09:27:25 0 14K
Poetry
Respect Lies in Your Position and Status: A Tale of Dichotomy
In a quiet home where shadows play,A snake moves silently, in the light of day.With sticks, they...
By Yubaraj Sedai 2023-12-01 21:51:31 0 10K
Politics
Atiq Ahmed: Former Indian politician
12 fertile acres of land were taken away, then the husband was made to disappear, the son was...
By Bharat Updates 2023-06-06 08:28:33 0 14K